
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले नगरभित्र कार्यरत शिक्षकहरूका लागि तलब वृद्धि तथा विभिन्न प्रोत्साहन सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार सम्पन्न १५ औं नगर सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले नगर शिक्षकहरूको मासिक तलब वृद्धि गरिने जानकारी दिए।
उनका अनुसार प्राथमिक तहका शिक्षकहरूलाई मासिक रु. २,०००, निम्न माध्यमिक तहमा रु. ३,०००, र माध्यमिक तहका शिक्षकहरूलाई रु. ४,००० थप तलब दिइनेछ। शिक्षण–सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूलाई समेत कल्याणकारी कोषमा आबद्ध गरिने योजना रहेको उनले बताए।


नगरप्रमुख भट्टले नगरपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षकहरूको लागि पोशाकको व्यवस्था पनि गरिने जानकारी दिए।
त्यस्तै विद्यालय व्यवस्थापनमा योगदान पुर्याइरहेका प्र.अ. (प्रधानाध्यापक) हरूका लागि पनि प्रोत्साहनस्वरूप मासिक भत्ता दिइने भएको छ। प्राथमिक तहमा रु. ४००, निम्न माध्यमिकमा रु. ५००, र माध्यमिक तहमा रु. ७०० भत्ता प्रदान गरिने जनाइएको छ।



















