
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकारहरूलाई निर्भीक र जिम्मेवार ढंगले कलम चलाउन आग्रह गर्नुभएको छ।

नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिद्वारा कञ्चनपुरमा आयोजित महिला पत्रकार लक्षित प्रदेश स्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले पत्रकारिता एउटा मर्यादित र सम्मानित पेशा भएको उल्लेख गर्नुभयो।
“पत्रकारहरू अनेकौं चुनौती पार गर्दै आएका छन्,” मुख्यमन्त्री शाहले भन्नुभयो, “यस्तो परिस्थितिमा पनि धेरै युवाहरू यो पेशामा आकर्षित भइरहेका छन्। उनीहरूलाई पत्रकारिता इज्जतको पेशा हो भन्ने अनुभूति दिलाउनु आवश्यक छ।”

उहाँले सिमित स्रोत र साधनका बाबजुद प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चार क्षेत्रका १० मुख्य कार्यक्रमहरूमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। ती कार्यक्रमहरू निम्नानुसार छन्:
1. दशरथ चन्द स्मृति पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना
2. पत्रकारहरूको क्षमता अभिवृद्धि कार्यक्रम
3. आम सञ्चार तथा पत्रकारिता क्षेत्रको संस्थागत सुदृढीकरण
4. राष्ट्रिय समाचार समितिको भवन निर्माण

5. नेपाल टेलिभिजनको स्टुडियो निर्माण
6. नेपाल पत्रकार महासंघ कञ्चनपुर र डडेलधुराको भवन निर्माण
7. सञ्चारकर्मीहरूको आवास गृह निर्माण (कैलाली)
8. लोक कल्याणकारी विज्ञापन कार्यक्रम
9. विपद्, मानव अधिकार र सञ्चार क्षेत्रमा अध्ययन अनुसन्धान गर्न इन्टर्न परिचालन
10. सञ्चार क्षेत्रमैत्री नीतिगत कार्यक्रमहरूको विकास
मुख्यमन्त्री शाहले यस्ता कार्यक्रमहरूले सुदूरपश्चिममा पत्रकारिता क्षेत्रको स्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।




























