
अत्तरिया : सरकारले सुदूरपश्चिम प्रदेशको धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्रामको विशेषतासहितको रंगशाला निर्माण गर्ने भएको छ ।

रंगशाला निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ । रिपोर्टमा रंगशाला निर्माणका १५ अर्ब रुपैयाँ खर्च लाग्ने उल्लेख छ । रंगशालाको क्षमता ५० हजार सिट क्षमताको हुनेसमेत रिपोर्टमा उल्लेख छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा २५.४८ हेक्टर क्षेत्रफलमा रंगशाला निर्माण हुने छ ।

प्रस्तावित आयोजनामा आवागमन–बहिर्गमन मूलद्वारसहितको सीमा पर्खाल, स्वचालित टिकट घर, पाले घर र सम्पूर्ण भौतिक संरचनाले सुविधासम्पन्न हुने छ । ५० हजार जना दर्शक क्षमताको प्याराफिटसहितको मूल क्रिकेट मैदान निर्माण हुने रिपोर्टमा उल्लेख छ । यसैगरी प्राक्टिस पिच, प्राक्टिस फिल्ड, कभर्डहल, फुटबल मैदान, एथ्लेटिक ट्र¥याक, पौडी पोखरी, हरियाली बगैँचा, पार्किङ क्षेत्रलगायतका संरचनासमेत निर्माण हुने उल्लेख छ ।


















