
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समितिले पार्टी अध्यक्ष रबी लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधको विरोधमा अत्तरियामा हस्ताक्षर अभियान सञ्चालन गरेको छ।

पार्टी स्थापना भएको तीन वर्ष पुरा भई चौथो वर्ष प्रवेश गरेको अवसरमा अभियानको आयोजना गरिएको हो। रास्वपा गोदावरी नगर समिति अध्यक्ष दीपक ओझाले लामिछानेविरुद्ध भइरहेको दलीय प्रतिशोधका विरुद्धमा आम नागरिकसँग समर्थन जुटाउन यो कार्यक्रम ल्याइएको बताए।
“यदि उहाँ (रबी लामिछाने) गलत हुनुहुन्छ भने न्यायिक प्रक्रियाबाट फैसला होस्, होइन भने जनताको सेवा गर्न दिनुपर्छ,” अध्यक्ष ओझाले बताए। उनले पार्टीप्रति जनसमर्थन बढ्दै गएको दाबी गर्दै आम नागरिकसँग हारगुहार गर्दै हस्ताक्षर अभियान सुरु गरिएको स्पष्ट पारे।


अभियान अन्तर्गत संकलित हस्ताक्षरहरू ब्यानरमार्फत जिल्ला प्रशासन कार्यालयमा बुझाइने समेत ओझाले जानकारी दिए।
कार्यक्रममा रास्वपाका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। रास्वपाले यस अभियानलाई लोकतन्त्र, निष्पक्ष न्याय र जनताको मतको सम्मानको सवालका रूपमा अघि सारेको छ।




























