
पाकिस्तानले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी गरिरहेको छ। गत मे महिनामा भारत र पाकिस्तानबीच चुलिएको युद्ध जोखिमलाई रोक्न उनले खेलेको कूटनीतिक भूमिकाको प्रशंसा गर्दै पाकिस्तान सरकार यस्तो तयारीमा जुटेको हो।

बीबीसीले पाकिस्तान सरकारका उच्च स्रोतलाई उद्धृत गर्दै ट्रम्पले युद्धको स्थितिमा ‘निर्णायक र प्रभावकारी कूटनीतिक हस्तक्षेप’ गरेको उल्लेख गर्दै खबर लेखेको छ।

पाकिस्तानी सरकारले शनिबार सामाजिक सञ्जालमार्फत भारत र पाकिस्तानबीच तीव्र रुपमा बढेको तनावलाई ट्रम्पले रोकेको दाबी गर्दै, ‘ट्रम्पले आफूलाई विश्वकै अग्रणी कूटनीतिज्ञ नेताका रूपमा प्रमाणित गरेका छन्,’ भन्ने प्रतिक्रिया दिएको छ।

गत मे महिनामा एकातिर हातहतियारसहित तयार दुई परमाणु शक्तिहरू आमनेसामने भइरहेका बेला ट्रम्पले अचानक युद्ध टर्ने घोषणा गरेका थिए। पाकिस्तानको भनाइ अनुसार ट्रम्पकै पहलमा तत्कालीन तनाव न्यून भएको थियो।
तर भारतले भने यसबारे फरक धारणा राख्दै युद्ध विराममा तेस्रो पक्षको कुनै भूमिका नरहेको दाबी गर्दै आएको छ। भारतको आधिकारिक भनाइमा युद्ध नहोउने निर्णय पूर्ण रूपमा आफ्नो रणनीतिक संयमता र आन्तरिक परामर्शका आधारमा भएको थियो।



















