
भारतको उत्तराखण्डस्थित काशिपुरमा आकर्षक रोजगारीको प्रलोभनमा परेका ३५ जना नेपाली युवाको सफल उद्धार गरिएको छ। नेपालका विभिन्न जिल्लाबाट बोलाइएका ती युवाहरूलाई बन्धक बनाई कुटपिट र मानसिक यातना दिइएको थियो।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार बन्धक बनाइ एकपछि अर्को शीर्षकमा रकम असुली भइरहेको सूचना प्राप्त भएपछि परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार उद्धार कार्य अघि बढाइएको हो।

राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते ती युवाहरूको उद्धार गरेको जनाएको छ।

राजदूतावासले भारतमा रहेका नेपाली नागरिकहरूलाई आकर्षक रोजगारीको लोभमा परी ठगीमा नपर्न आग्रह गरेको छ। साथै यस्ता घटनाको पुनरावृत्ति रोक्न नेपाल सरकार र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेकोसमेत बताइएको छ।
यसअघि पनि भारतका विभिन्न सहरहरूबाट नेपाली युवाहरू बन्धक बनाई ठगी हुने घटनाहरू सार्वजनिक भइरहेका छन्। यसले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव बेचबिखन र ठगीको समस्या गम्भीर बन्दै गएको संकेत दिएको छ।






























