धनगढीको हरियाली अभियान: तीन वर्षमा १६ हजार बिरुवा हुर्किए

Image
Nisarga Hospital

‘हरित धनगढी, स्वच्छ धनगढी’ नारासहित अघि बढाइएको हरियाली प्रवद्र्धन अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाले तीन वर्षमा १६ हजार ५६ वटा बोटबिरुवा रोपेर हुर्काएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

उपमहानगरको जिन्सी व्यवस्थापन शाखा प्रमुख कृष्णराज जोशीका अनुसार, २०७९ फागुनदेखि २०८२ जेठ मसान्तसम्म चलाइएको हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा बृक्षारोपण गरिएको हो। चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा मात्रै ६ हजार ५९८ बिरुवा रोपिएको छ भने अघिल्ला दुई आर्थिक वर्षमा ९ हजार ४५८ बिरुवा रोपिएको जानकारी उनले दिए।

कार्यक्रमअन्तर्गत ५३ सामुदायिक विद्यालयमा मात्र १ हजार ८ सय अम्बा र २ हजार ७ सय आँपका बिरुवा रोपिएका छन्। यस्तै, नगर क्षेत्रका १९ मध्ये १८ वटै वडामा सडक मिडियन, किनारा तथा सार्वजनिक स्थलहरूमा हरियाली विस्तार गरिएको छ। वडा नं. १० मा सडक छेउमा नाला निर्माण भएकाले बिरुवा रोपण सम्भव नभएको जोशीले बताए।

धनगढीलाई वातावरणमैत्री, हरियालीयुक्त र सौन्दर्यपूर्ण बनाउने उद्देश्यले उपमहानगरले ‘हरित धनगढी’ अभियानलाई तीव्र रूपमा अगाडि बढाएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडक, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्ग, चक्रपथ, क्याम्पस रोड, मोहना आर्यघाट, कैलाली पुलदेखि चौराहा, मालपोत–गुल्म चर्च सडक, शहिदगेट–क्यापरोडसम्म विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्।

जोशीका अनुसार, हुलाकी राजमार्गको मनहेरा–बेली क्षेत्रसम्म मौवा, अमला, जामुन, सलिफा जस्ता फलफूलका बिरुवाहरू रोपिएका छन्, जसले चराचुरुङ्गीको आहार सुनिश्चित गर्छ।

उपमहानगरले रोपेका बिरुवाहरूको नियमित हेरचाह, सिँचाइ र संरक्षणको व्यवस्था गर्दै आएको छ। अभियानलाई निरन्तरता दिँदै प्रत्येक वर्ष आवश्यक बजेट समेत विनियोजन गरिँदै आएको छ।