

डोटी: डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४५ करोड ६६ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १९औँ गाउँ अधिवेशनमा उपाध्यक्ष विष्ना देउवा बमले आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गरेकी हुन्।
बजेटमा कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने र रोजगारी सिर्जनाका लागि सिप विकासमा जोड दिने नीति लिइएको छ।
गाउँपालिकाले आगामी वर्षका लागि आन्तरिक आय ४३ लाख ७१ हजार रुपैयाँ हुने अनुमान गरेको छ। संघीय समानीकरण अनुदानबाट ९ करोड ३० लाख, राजस्व बाँडफाँडबाट १० करोड ५७ लाख, सशर्त अनुदानबाट २१ करोड ३० लाख, समपूरक अनुदानबाट ८८ लाख, र प्रदेश सरकार समानीकरण अनुदानबाट ७६ लाख ७१ हजार प्राप्त हुने अपेक्षा गरिएको छ।
उपाध्यक्ष बमले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममाथि छलफल गर्न अर्को गाउँसभा असार १३ गते बिहान ११ बजेका लागि तय गरिएको छ। गाउँसभा अध्यक्ष कमलबहादुर गडसिलाले बैठकको आह्वान गरेका हुन्।
































