
डोटी जिल्लाको शिखर नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषित भएको छ।

‘पूर्ण खोप, सुनिश्चित भविष्य’ नाराका साथ खोप समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख तथा खोप समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले घोषणा गरेका हुन्। सिंहले नगरपालिका प्रमुख दीर्घ बहादुर बलायरलाई प्रमाणपत्र हस्तान्तरण गर्दै स्वास्थ्यकर्मीको योगदानको प्रशंसा गरे।
नगरप्रमुख बलायरले सम्पूर्ण खोप सुनिश्चितताका लागि सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धता जनाए। उनले खोपले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुने बताए।
नगर उपप्रमुख सुनिता रावल जोराका अनुसार, २०८१ सालको चैत्र मसान्तसम्म १६ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई निर्धारित सम्पूर्ण खोप दिइसकिएको छ। यस उपलब्धिमार्फत नगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो।
स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र शाहले नगरका ११ वटै वडामा राष्ट्रिय खोप तालिकाअनुसार खोप लगाइएको पुष्टि गरे। साथै, खोप नलगाएका बालबालिका सम्पर्कमा ल्याउने कार्यमा पनि पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए।
स्वास्थ्य कार्यालय डोटीका खोप संयोजक दिल्ली रमण जोशीले शिखर नगरपालिका जिल्लामै पहिलो पूर्ण खोप सुनिश्चितता पालिका भएको बताए। कार्यक्रममा खोप अभियानमा योगदान पु¥याउने स्वास्थ्यकर्मीलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।































