नेपाल–अष्ट्रेलिया सम्बन्ध सुदृढ गर्न मन्त्री भण्डारी र राजदूत जोन्स्टनबीच शिष्टाचार भेट

Image
Nisarga Hospital

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि अष्ट्रेलियाली राजदूत लियान जोन्स्टनबीच बिहीवार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

भेटका क्रममा मन्त्री भण्डारीले नेपाल–अष्ट्रेलिया सम्बन्ध सशक्त बनाउन राजदूत जोन्स्टनले पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गरे। उनले नेपालले सन् २०२६ सम्ममा अति कम विकसित मुलुकको श्रेणीबाट उकासिने लक्ष्य राखेको उल्लेख गर्दै, उक्त यात्रा सफल बनाउन अष्ट्रेलियाको सहयोग, प्रविधि हस्तान्तरण र साझेदारी अत्यावश्यक हुने धारणा राखे।

नेपाल र अष्ट्रेलियाबीचको व्यापार तथा लगानी सम्बन्धलाई उल्लेखनीय बताउँदै मन्त्री भण्डारीले हालै हस्ताक्षर भएको व्यापार तथा लगानी ढाँचा सम्झौताअनुसार संयन्त्रको बैठक छिट्टै आयोजना गर्नुपर्नेमा जोड दिए।

nawajiwan
Attariya Hospital

भेटवार्तामा खानी तथा खनिज उत्खननका सम्भावनाहरूबारे समेत गहिरो छलफल भएको थियो। मन्त्री भण्डारीले विशेषगरी धौबादी फलाम खानीजस्ता परियोजनाहरूमा अष्ट्रेलियाली लगानी र प्राविधिक सहयोग विस्तार गर्न आग्रह गरे। साथै, जनशक्ति विकासका क्षेत्रमा अष्ट्रेलियाको अनुभव र सहकार्यले नेपाललाई थप लाभ मिल्ने विश्वास व्यक्त गरे।

राजदूत जोन्स्टनले नेपालमा अष्ट्रेलियाली दूतावासमार्फत व्यापार, लगानी र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्। साथै, दुबै देशबीच द्विपक्षीय संयन्त्रको बैठक आयोजना गर्न अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय भइरहेको बताइन्।

भेटको निष्कर्षमा, खानी, व्यापार तथा लगानीका क्षेत्रमा सरकारी तथा निजी तहमा सहकार्य र समन्वयलाई थप गहिर्याउने साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।