
भीमदत्त राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ स्थित बुढीतोलामा सडक निर्माण कार्य अझै पूर्णता नपाउँदा यात्रु र सवारी चालकलाई सास्ती भइरहेको छ। बर्खायाम सुरु भएसँगै सडक हिलाम्मे हुँदा दैनिक यात्रा जोखिमपूर्ण बन्दै गएको छ।

गत वर्ष साउन २२ गते ठूलो पहिरो खसेपछि सो क्षेत्रको सडक अवरुद्ध बनेको थियो। पहिरो गएको सात दिनपछि अस्थायी रुपमा सवारी आवागमन सुचारु गरिए पनि दीर्घकालीन समाधानका लागि डिभिजन सडक कार्यालयले पुनर्निर्माण कार्य थालेको थियो।
भूगर्भविद्को अध्ययन अनुसार जमिनमुनिको पानीको बहाव रोकिनु नै पहिरोको प्रमुख कारण रहेको पाइएको थियो। त्यसअनुसार पानीको उचित निकास दिन ‘अल सर्फेस डिलिनेसन सिस्टम’ (सतह रेखांकन प्रणाली) मार्फत पुनर्निर्माण अघि बढाइएको हो।

झन्डै ६ करोड रुपैयाँ लागतमा जेसआई हटैराज जेभी कम्पनीले जिम्मा लिएको उक्त निर्माण कार्य अझै सकिएको छैन। काम सुरु भएपनि बर्खायामको असरले गर्दा सडक दलदलमा परिणत भएको छ।

स्थानीय तथा यात्रुहरू भने बाटोको अवस्था प्रति चिन्तित छन्। धनगढी निवासी यात्रु टंक कुँवर भन्छन्, “सडक हिलाम्मे छ। पानी परेपछि मोटरसाइकल चलाउनै नसकिने अवस्था हुन्छ। निर्माण कार्य चाँडो सकिनु आवश्यक छ।”
डिभिजन सडक कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीका अनुसार करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको र अब ग्याबिन जडान तथा ग्राभेल हाल्ने काम मात्र बाँकी रहेको बताउँछन्। उनका अनुसार एक महिनाभित्र सबै काम सकिने लक्ष्य रहेको छ।
यसैबीच, भीमदत्त राजमार्गसँगै जयपृथ्वी राजमार्ग पनि वर्षातमा पहिरोका कारण बारम्बार अवरुद्ध हुने गरेको छ। तर पहिरो प्रभावित स्थानमा पुनर्निर्माणको काम नहुँदा यात्रुले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि सास्ती भोग्नुपर्ने अवस्था यथावत् छ।































