
गौरीगंगा: कैलालीको गौरीगंगा नगरपालिका–३ स्थित जन जागृत माध्यमिक विद्यालयका ३२ जना स्काउट विद्यार्थीलाई पोशाक वितरण गरिएको छ। गौरीगंगा–३ वडा कार्यालयको पहलमा छात्र–छात्रा तथा एक जना स्काउट शिक्षकलाई पोशाक वितरण गरिएको हो।

पोशाक वितरण कार्यक्रम वडा अध्यक्ष मनिराम जोशीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तारा नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। विद्यालयका प्रधानाध्यापक सुरेन्द्र धामीका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत स्काउट समूहका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो।

वडा अध्यक्ष जोशीले स्काउट गतिविधिमा संलग्न विद्यार्थी र शिक्षकलाई प्रोत्साहन गर्न पोशाक वितरण गरिएको जानकारी दिए। कार्यक्रम वडाको आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत स्वीकृत बजेटबाट खरिद गरिएको पोशाक वितरण गरी सम्पन्न गरिएको हो।

कार्यक्रममा वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य, विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव घनश्याम ओझाले गरेका थिए भने जानकारी हेमन्त बाजेले दिएका हुन्।
































