अत्तरियामा लागुऔषध न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका अत्तरियामा लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। अत्तरिया सञ्चार संघको आयोजनामा आयोजित कार्यक्रममा विद्यालयस्तरमै चेतनामूलक गतिविधि संचालन गरिएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

कार्यक्रम सञ्चार संघका उपाध्यक्ष राजकुमार साउदको अध्यक्षता तथा गोदावरी नगरपालिका–८ का वडाध्यक्ष गोविन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। प्रमुख अतिथि चौधरीले वडामा लागुऔषध दुव्र्यसन दिनप्रतिदिन फैलिँदो अवस्थाले चिन्ता बढाएको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न देखिए तुरुन्तै सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरे।

कार्यक्रमको पहिलो दिन गोदावरी–८ स्थित शारदा माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो, जसमा कक्षा ९ र १० का ६० भन्दा बढी विद्यार्थी सहभागी थिए। सहभागी विद्यार्थीहरूले यस्ता नकारात्मक क्रियाकलापबाट आफूहरू टाढै रहने र उज्ज्वल भविष्य निर्माण गर्ने प्रतिबद्धता जनाए।

संघका उपाध्यक्ष साउदले पछिल्लो समय युवामाझ तीव्ररूपमा फैलिएको लागुऔषधको समस्या न्यूनीकरण गर्न विद्यालयस्तरमै सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। विद्यालयका प्रधानाध्यापक भोजराज जोशीले यस्ता कार्यक्रमहरूले विद्यार्थी, अभिभावक र समाजमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक इन्द्र भट्टले प्रमुख प्रशिक्षकको भूमिका निभाए भने सहायक प्रशिक्षक गोपाल जोशी रहे। उनीहरूले लागुऔषधका प्रकार, दुव्र्यसनबाट हुने असर, नियन्त्रणका उपाय तथा बच्नका उपायहरूबारे जानकारी दिए।

कार्यक्रममा वडा सदस्य चन्द्र बिसी, स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवा, युवा समाजसेवी बालकृष्ण भट्टराईलगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा अत्तरिया सञ्चार संघका महासचिव ध्रुव ओझाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष शारदा फुलाराले गरेकी थिइन्।

आयोजकका अनुसार गोदावरी नगरपालिकाको सहयोगमा थप २ वटा संस्थागत र ५ वटा सामुदायिक विद्यालयहरूमा पनि यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।