
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं १२ को कोल्मुडा आधारभूत स्वास्थ्य केन्द्रमा गोदावरी नगरपालिका को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ।

गोदावरी नगरपालिकाका नगरप्रमुखको निर्णयअनुसार दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरमा स्त्री रोग, हाडजोर्नी, जनरल सर्जरी, जनरल मेडिसिन लगायतका सेवा उपलब्ध गराइएको थियो।

नगरपालिका स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीका अनुसार शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नसा रोग, स्त्रीरोग विशेषज्ञमार्फत स्वास्थ्य परीक्षण, प्रयोगशाला सेवा, गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड, पाठेघरको मुखको क्यान्सर र प्रजनन स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण जस्ता सेवा प्रदान गरिएको हो।


शिविरको उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष भीम बहादुर खड्का को
अध्यक्षतामा संचालित कार्यक्रममा मा स्थानिय जनतालाई डाक्टर हरुले जनचेतना अभिवृद्धि सँगै रोग बारे जानकारी दिएका छन्। शिविरमा सेती प्रादेशिक अस्पतालका गाइनोक्लोजिस्ट डा. कोमल शाह, गेटा अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. मोहन चन्द्र जोशी, जनरल फिजिसियन डा. गणेश फुलारा, गोदावरी नगरपालिका स्वास्थ्य शाखाको टोली र मालाखेती अस्पतालका नर्सिङ कर्मचारीको सक्रिय सहभागिता रहेको थियो।


स्वास्थ्य शाखाका अनुसार आइतबार गोदावरी–४ को हाटखोली स्वास्थ्य केन्द्रमा थप शिविर सञ्चालन हुने बताएका छन्।

































