
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा अघिल्ला वर्षको तुलनामा उल्लेखनीय सुधार देखिएको छ। गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए भने यस वर्ष त्यो दर बढेर ६१.८१ प्रतिशत पुगेको छ।

सुदूरपश्चिम प्रदेशले पनि यसपटक उल्लेख्य सुधार हासिल गरेको छ। यहाँबाट परीक्षामा सहभागी ५९ हजार ८०४ विद्यार्थीमध्ये ५५ प्रतिशत अर्थात् ३२ हजार ९३० जना ग्रेडेड भएका छन्। बाँकी २६ हजार ८७४ जना भने नन-ग्रेडेड भएका छन्। ती विद्यार्थीका लागि आगामी साउन २९ देखि विशेष मौका परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अनुसार विशिष्ट श्रेणी (३.६० देखि ४.०० जीपीए) हासिल गर्ने विद्यार्थीको संख्या सुदूरपश्चिममा १,२१९ रहेको छ। त्यस्तै, ३.२०–३.६० जीपीए ल्याउने ४,०९१, २.८०–३.२० ल्याउने ७,४७६, २.४०–२.८० ल्याउने ५,७१९, २.००–२.४० ल्याउने ६५९ जना रहेका छन्। १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या भने एक मात्र रहेको बोर्डले जनाएको छ।

यसरी, पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रमा गरिएको प्रयासले सकारात्मक परिणाम देखाउन थालेको संकेत यस वर्षको एसईई नतिजाबाट पाइन्छ।
































