
धनगढी: बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ बाम्कामा जेठ २३ गते भएको भीषण आगलागीका पीडितलाई नेपाली कांग्रेसका युवा नेता रनसिंह अयडीले व्यक्तिगत रुपमा आर्थिक सहायता उपलब्ध गराएका छन्।

सहयोगस्वरूप अयडीले १३ हजार एक सय पाँच रुपैयाँ राहतस्वरूप प्रदान गरेका हुन्। “थोरै भए पनि पीडामा मल्हम लगाउने उद्देश्यले सहयोग गरेको हुँ,” अयडीले भने, “यस्ता पीडामा सबैले सक्दो साथ दिनुपर्छ।”

नेता अयडी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य तथा बाजुराका पूर्व सचिव हुन्। उनले आगलागी पीडितप्रति सहानुभूति जनाउँदै सहयोगका लागि सबैलाई आह्वानसमेत गरेका छन्।

बाम्कामा भएको उक्त आगलागीबाट करिब १९ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। स्थानीय व्यवसाय, घर तथा संरचनामा ठूलो नोक्सानी पुगेको जनाइएको छ।
































