
कञ्चनपुर: लगातारको वर्षासँगै महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ। शनिबार साँझ शारदा ब्यारेजमा गरिएको मापनअनुसार नदीको बहाव एक लाख १५ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पानीको सतह बढेसँगै जोखिम बढ्न थालेपछि शारदा ब्यारेज हुँदै हुने चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको हो। प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार शनिबार साँझदेखि नै सुरक्षाका दृष्टिले सवारी आवतजावत बन्द गरिएको हो।
“महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सवारी रोक्ने व्यवस्था छ,” बोहराले भने, “हाल बहाव एक लाख १५ हजार क्युसेक पुगेको छ, त्यसैले सवारी आवगमन तत्कालका लागि रोकिएको हो।”


यसैबीच जल तथा मौसम विज्ञान विभागले असार १६ गतेसम्म सुदूरपश्चिमका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ। विभागले नदी किनार, तटीय क्षेत्र र पहिरोको जोखिमयुक्त स्थानहरूमा विशेष सावधानी अपनाउन सुझाव दिएको छ।
स्थानीय प्रशासन, सुरक्षा निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रबाट टाढा रहन अनुरोध गरिएको छ।































