
डोटी: सुदूरपश्चिम प्रदेशमा हालसम्म कुल ४५.४९ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालय डोटीका अनुसार यो गत वर्षकै हाराहारीको प्रगति हो।

निर्देशनालयका सूचना अधिकारी केशव पाण्डेले भने, “प्रदेशभरको रोपाइ प्रगति सन्तोषजनक भए पनि पर्याप्त वर्षा नहुँदा कतिपय जिल्लामा अपेक्षित दरमा रोपाइ हुन सकेको छैन।”

प्रदेशका नौ वटै जिल्लामध्ये बझाङमा सबैभन्दा बढी ७० प्रतिशत रोपाइ सम्पन्न भएको छ भने सबैभन्दा कम बाजुरामा ३४ प्रतिशत मात्र रोपाइ भएको छ। अन्य जिल्लाहरूको रोपाइ प्रगति यसप्रकार छ:

यस वर्ष सुदूरपश्चिममा करिब १ लाख ७० हजार हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ। मनसुन केही अघि सुरु हुने पूर्वानुमानका आधारमा किसानहरूले रोपाइको तयारी गरिसकेका थिए, तर वर्षा नहुँदा रोपाइ सुस्त गतिमा भइरहेको हो।
कृषि ज्ञान केन्द्र कैलालीका सहायक कृषि प्रसार अधिकृत मदनराज जैसीका अनुसार, कैलालीका भजनी, टीकापुर, जोशीपुर, गौरीगंगा र घोडाघोडी क्षेत्रमा भने सिँचाइ सुविधा भएकाले रोपाइ अघि बढेको छ। तर वर्षा रोकिएपछि अन्य क्षेत्रमा काम प्रभावित भएको छ।
कैलाली सुदूरपश्चिमको अन्न भण्डार मानिन्छ, तर त्यहाँ समेत रोपाइमा ढिलाइ हुनु चिन्ताको विषय बनेको छ।



































