
हेमन्त बाजे/ चौमालाः गौरीगंगा नगरपालिकाले एक भव्य कार्यक्रमका साथ २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ। “धानबालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित उक्त कार्यक्रम नगरपालिका–४ स्थित राजीपुरमा सम्पन्न भएको हो।

कार्यक्रमको आयोजना कृषि शाखाले गरेको हो भने आर्थिक सहयोग नगरपालिकाबाट प्राप्त भएको थियो। कार्यक्रममा नगरप्रमुख देबिदत्त कँडेल, उप–प्रमुख भोजबहादुर बम, शिक्षा शाखा प्रमुख हरिस पन्त, विभिन्न वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा स्थानीयवासीको उत्साहजनक उपस्थिति थियो।

उपस्थित सबैले रोपाइँमा सहभागिता जनाउँदै धान दिवसलाई सांस्कृतिक पर्वको रूपमा मनाएका थिए। कार्यक्रममा बोल्दै नगरप्रमुख कँडेलले कृषिलाई व्यावसायिक बनाउँदै प्राविधिक सँग जोड्ने लक्ष्य रहेको बताए। उनले स्थानीय सरकार कृषिमा आमनागरिकलाई आकर्षित गर्न तथा उत्प्रेरित गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।

नगरपालिकाले प्रत्येक वर्ष धान दिवसको अवसरमा यस्ता कार्यक्रम गर्दै आएको छ।
































