
अत्तरियाः नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ को आयोजनामा गोदावरी नगरपालिका–४ बास्कोटामा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। “धानबालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रम सोमबार बिहान ८ बजे वडाध्यक्ष हेम प्रकाश मल्लको खेतमा आयोजित गरिएको हो।

कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, प्रदेश सभा सदस्य तुलसी देवकोटा, नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का सभापति बसन्त रोकाया ललित, चुरे, गौरीगंगा र गोदावरी क्षेत्रका पार्टीका नेताहरू, स्थानीय जनप्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले खेतमा उत्रिएर परम्परागत शैलीमा धान रोप्दै असार १५ लाई सांस्कृतिक पर्वका रूपमा उत्सवमय वातावरणमा मनाएका थिए।

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले कृषिलाई व्यावसायिक र प्रविधिमैत्री बनाउँदै स्थानीय उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य रहेको बताए। उनले कृषिमा नागरिकको सहभागिता बढाउन स्थानीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

त्यस्तै, प्रदेश सभा सदस्य तुलसी देवकोटाले “मानो रोपेर मुरी फलाउने” परम्परालाई आत्मसात् गर्दै आधुनिक कृषि प्रणालीको विकासमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेस क्षेत्र नं. ४ का सभापति बसन्त रोकायाले दही–चिउरा खाएर खेतमा उत्रिनु नेपाली परम्परासँगै एकताको प्रतीक भएको बताउँदै सबै सहभागीप्रति आभार प्रकट गरे।
वडाध्यक्ष हेम प्रकाश मल्लले आफ्नो खेतमा कार्यक्रम आयोजना गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै कार्यक्रम सफल बनाउनेमा सहकार्य गर्ने सबै जनप्रतिनिधि, नेता तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।





































