बेरुजुलाई भ्रष्टाचार भन्नु पूर्वाग्रही हमला हो, गोदावरी नगरपालिकाद्वारा समाचार खण्डन

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिका कैलालीले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनका सन्दर्भमा TV Today टेलिभिजनबाट प्रसारित समाचारप्रति कडा आपत्ति जनाएको छ। समाचारमा तथ्यबिना नगरपालिकालाई भ्रष्टाचारमा संलग्न देखाउने प्रयास भएको भन्दै पालिकाले सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

गोदावरी नगरपालिकाका नगर प्रवक्ता गोपालदत्त भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, “बेरुजु भनेको प्रक्रिया नपुगेको कारोबार हो, तर त्यो भ्रष्टाचार होइन।” लेखापरीक्षणको क्रममा उठेका बेरुजु सम्बन्धी विषयलाई तोडमोड गरी भ्रमपूर्ण शैलीमा रिपोर्टिङ गर्नु गैर-जिम्मेवार र पूर्वाग्रहपूर्ण भएको स्पष्ट गरिएको छ।

नगरपालिकाका अनुसार योजना कार्यान्वयनको सम्पूर्ण प्रक्रिया प्रशासनिक संयन्त्रमार्फत हुने हुँदा राजनीतिक नेतृत्वको प्रत्यक्ष संलग्नता हुँदैन। विज्ञप्तिमा थप भनिएको छ— “वर्तमान संविधानपछिको संरचनामा अधिकांश स्थानीय तहहरू आवश्यक जनशक्तिविहीन छन्, जसका कारण लेखा प्रक्रिया समयमै फछ्र्यौट गर्न चुनौतिपूर्ण भएको सर्वविदित तथ्य हो।”

पालिकाले २०८०/८१ को प्रारम्भिक प्रतिवेदनमा देखिएको बेरुजुमध्ये झण्डै ९ करोड ६० लाख रुपैयाँ फछ्र्यौट भइसकेको र बाँकी रकम कानुनी प्रक्रिया अनुसार फछ्र्यौट हुने क्रममा रहेको उल्लेख गरिएको छ।

पालिकाले नगरप्रमुख विरेन्द्र भट्ट र उहाँकी धर्मपत्नीको तस्बिर प्रयोग गरी गरिएको रिपोर्टिङलाई “व्यक्तिगत आत्म-सम्मानमा ठेस पुग्ने, चरित्र हत्या गर्ने र प्रेसको आडमा गरिने गलत अभ्यास” को संज्ञा दिँदै घोर भर्त्सना गरेको छ। भट्टको धर्मपत्नीको पालिकाको कुनै कामकारबाहीमा संलग्नता नरहेको जनाउँदै यस्तो कार्य आपत्तिजनक र गैरकानुनी रहेको प्रष्ट पारिएको छ।

नगरपालिकाले सत्यता नबुझी गरिएको भ्रामक प्रस्तुतीप्रति आपत्ति जनाउँदै सम्बद्ध सरोकारवाला निकायहरूलाई कानुनी कारबाही प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएको छ।

“स्वच्छ, निष्पक्ष पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै गोदावरी नगरपालिका सुशासन, पारदर्शिता र जिम्मेवारीमा प्रतिबद्ध छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।