
राष्ट्रिय धान दिवसको अवसरमा डेउडा प्रतिष्ठान केन्द्रीय समितिद्वारा रोपाइँ काव्य गोष्ठी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका–१८, आदर्श टोल फुलबारीमा आयोजित कार्यक्रममा कलाकारहरूले चाँचरी गीत गाउँदै, डेउडा खेल्दै हर्षोल्लासका साथ धान दिवस मनाए।

प्रतिष्ठानका उपमहासचिव प्रेमबिबश चन्दका अनुसार कार्यक्रमको नेतृत्व प्रतिष्ठानका अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ले गरेका थिए। कार्यक्रममा बरिष्ठ लोकगायक तथा संस्थापक अध्यक्ष नरेन्द्रराज रेग्मीले गीत गाउँदै खेतमा धान रोपेर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए। रोपाइँ कार्य कलाकार हिरेण्य साउँदको खेतमा गरिएको थियो।

धनगढीबाट एक बस रिजर्भ गरी फुलबारी पुगेका दुई दर्जन कलाकार सहभागी कार्यक्रमले छुट्टै रौनक र उत्साह ल्याएको पूर्व शिक्षक चेतराज शाहीले बताए। “प्रकृतिसँगको आत्मीयता र परम्परागत संस्कृतिसँगको पुनःजोड यस कार्यक्रममार्फत अनुभव गरियो,” उनले भनिन्।

कार्यक्रम संयोजक तथा केन्द्रीय सदस्य प्रकाश बहादुर साउँदका अनुसार, डेउडा प्रतिष्ठानले विगतका वर्षहरूमा पनि रोपाइँ पर्वमा कार्यक्रम गर्दै आए पनि यो वर्षको आयोजनालाई अझ प्रभावकारी र साङ्गठानिक रुपमा समृद्ध बनाइएको छ।
संस्थाका सचिव विष्णुभक्त खैरले प्रतिष्ठानले हरेक वर्ष लोकसंस्कृतिको संरक्षणमा ध्यान दिँदै आएको र आगामी दिनमा स्थानीय लोकबाजा, गीत–संगीत र परम्परागत कला जगेर्नामा अझ बढी सक्रियता जनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष द्वय भक्तराज जोशी, सरिता कठायत, प्रशासनिक सचिव धर्मराज जोशी, कलाकारहरू धनेश्वरी रेग्मी, धनसरा साउँद, गगनसिंह ऐर, गीता साउँद, भोजराज फुलारा लगायत दर्जनौं कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले राष्ट्रिय धान दिवसलाई सांस्कृतिक उत्सवको रूपमा मनाउँदै स्थानीय पहिचान र मौलिक संस्कृति संरक्षणमा विशेष योगदान पुर्याएको सहभागीहरूको भनाइ छ।


































