
अत्तरिया: कैलाली र कञ्चनपुर जिल्लामा आइतवार साँझदेखि सोमवार बिहानसम्म लगातार भएको भारी वर्षाले जनजीवन प्रभावित बनेको छ।

महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाले सोमवार बिहान ८:४५ बजे २१२.२ मिलिमिटर वर्षा मापन गरेको छ। अत्तरियास्थित वर्षा मापन केन्द्रका अनुसार आइतवार साँझ ५:४५ देखि सोमवार बिहान ८:४५ सम्म यो वर्षा मापन गरिएको हो, जुन भारी वर्षाको रूपमा लिइन्छ।

वर्षाका कारण धनगढी उपमहानगरपालिका अन्तर्गतका पार्क मोड, रातो पुललगायतका क्षेत्रहरू जलमग्न भएका छन्। मुख्य सडकमै पानी जम्दा आवागमनमा समेत समस्या भएको छ। त्यस्तै, धनगढीसँग जोडिएको मोहना नदीको पानीको सतह समेत बढ्दै गएकाले आसपासका बस्तीहरूमा सतर्कता अपनाउन भनिएको छ।

जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले धनगढी, गोदावरी, पुनर्वास र कृष्णपुर नगरपालिका क्षेत्रमा अत्यधिक वर्षा भएको पुष्टि गरे। यद्यपि, हालसम्म कुनै ठूलो क्षतिको विवरण भने प्राप्त नभएको उनले जानकारी दिए।
































