
अत्तरियाः कृष्णपुर नगरपालिकाले विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सोमबार प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ।

नगरप्रमुख हेमराज ओझाले नगर क्षेत्रभित्रका पाँचवटा प्रहरी युनिटलाई रेनकोट, सर्चलाइट, डोरी, ग्याम्बुटलगायत सामग्री हस्तान्तरण गरेका हुन्। प्रत्येक युनिटलाई पाँच समूहका दरले सामग्री उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।
दङ्गा प्रहरी गण बङ्क, इलाका प्रहरी कार्यालय गुलरिया, प्रहरी पोष्ट वाणी, गजरौला, रैकवार विचवा र वडा नं. १ मा रहेका प्रहरी युनिटहरूलाई सामग्री वितरण गरिएको हो।


“प्रहरीहरू सधैं पहिलो पङ्क्तिमा रहेर विपद् व्यवस्थापनमा खटिन्छन्,” नगरप्रमुख ओझाले भने, “यी सामग्रीले तत्काल उद्धारमा सहयोग पुग्नेछ, जसले मानव, पशुपक्षी र सम्पत्तिको क्षति न्यूनीकरणमा मद्दत पुर्याउँछ।”
नगरपालिकाको विपद् शाखा प्रमुख प्रेम बोगटीले पहिलो चरणमा सीमित सामग्री मात्र उपलब्ध गराइएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा थप सामग्रीका लागि पर्याप्त बजेट व्यवस्था गरिने जानकारी दिए।
































