दोगडाकेदार गाउँपालिकाद्वारा टुहुरा बालबालिकालाई पढाइ खर्च सहायता

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

बैतडीः दोगडाकेदार गाउँपालिकाले आमाबुवा गुमाएका (टुहुरा) बालबालिकाहरूलाई शिक्षा खर्चका लागि आर्थिक सहायता प्रदान गर्दै आएको छ।

गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीका अनुसार २०७६ सालदेखि गाउँपालिकाले हरेक वर्ष टुहुरा बालबालिकालाई वार्षिक रुपमा पढाइ खर्च उपलब्ध गराउँदै आएको हो। उनका अनुसार, गत वर्ष गाउँपालिकाभित्र रहेका २२ जना टुहुरा बालबालिकालाई जनही २० हजार रुपैयाँका दरले सहयोग गरिएको थियो। उक्त रकम बालबालिकाको नाममा खोलिएको बैंक खातामार्फत् प्रदान गरिएको हो।

nawajiwan

Attariya Hospital

“बालबालिकाले पैसाको अभावमा पढाइबाट वञ्चित नहोस् भन्ने उद्देश्यले हामीले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौं,” उपाध्यक्ष कार्कीले भनिन्, “स्थानीय सरकारले हरेक नागरिकमा आफ्नोपनको अनुभूति दिलाओस् भन्ने हाम्रो प्रयास हो।”

महिला तथा बालबालिका शाखा प्रमुख चित्रा भट्टका अनुसार चालू आर्थिक वर्षका लागि टुहुरा बालबालिकाको तथ्यांक संकलनको काम भइरहेको छ। संकलित विवरणका आधारमा यो वर्ष पनि आवश्यक सहयोग प्रदान गरिने गाउँपालिकाले जनाएको छ।