
कैलालीको गोदावरी नगरपालिकामा १५ दिने ब्युटिसियन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। गोदावरी नगरपालिकाको सहयोग, युवा शान्ति परिषद् धनगढीको आयोजनामा र सुदूरपश्चिम ब्युटीपार्लर एसोसिएसन शाखा अत्तरियाको सहकार्यमा तालिम सञ्चालन गरिएको हो।

समापन समारोहका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. १ का अध्यक्ष एवं नगर प्रवक्ता गोपालदत्त भट्टले तालिमले महिलालाई स्वरोजगारसँगै अरूलाई पनि रोजगार दिने क्षमता विकास गरेको बताए। “ब्युटिसियन पेशा अहिले आत्मनिर्भर बन्ने माध्यममात्र नभई प्रतिष्ठित व्यवसायको रूपमा स्थापित भइसकेको छ,” उनले भने।
एसोसिएसनकी अध्यक्ष दीपीका कुँवर हमालले ब्युटी क्षेत्रमा दिनहुँ नयाँ प्रविधिहरू भित्रिने भएकाले निरन्तर तालिम आवश्यक रहेको बताइन्। उनले यस्ता तालिमका लागि भविष्यमा पनि बजेट विनियोजन गरिदिन नगरपालिकासँग आग्रह गरिन्।


प्रशिक्षार्थी मञ्जु नेपालीले आफूहरूलाई व्यावसायिक ज्ञान दिन तालिमले ठूलो मद्दत पुर्याएको प्रतिक्रिया दिइन्। तालिममा २२ जना सहभागी थिए भने मुख्य प्रशिक्षकको भूमिका मायाज ब्युटीपार्लर तथा ट्रेनिङ सेन्टर, काठमाडौंकी सञ्चालक गीता गीरीले निभाएकी थिइन्।
अत्तरियाको सत्कार होटलमा सम्पन्न तालिम समापन कार्यक्रममा होटल व्यवसायी महासंघकी केन्द्रिय उपाध्यक्ष धनादेवी चोखाल, गोदावरी नगरपालिकाका वरिष्ठ उद्यम विकास सहजकर्ता दीपेन्द्र ओली, युवा शान्ति परिषद् अध्यक्ष प्रेम ढुंगाना, कार्यक्रम संयोजक यज्ञराज कापडीसहित प्रशिक्षार्थी र पत्रकारहरूको उपस्थिति रहेको थियो।
































