
अत्तरिया: “२० वर्ष विदेशमा पसिना बगाएँ, तर मेहनतको प्रतिफल शून्य जस्तै भयो। कोरोना महामारीको समयमा घर फर्किएँ, अनि सोच बनाएँ—अब आफ्नै माटोमा केही गर्नुपर्छ।”

यो भनाइ हो कैलालीको धनगढी उपमहानगरपालिका–१४, फूलबारी ‘एच गाउँ’ निवासी पुष्पराज भण्डारीको, जो अहिले सफल केराखेती गर्दै छन्।
विदेशबाट फर्किएपछि उनले सुरुमा करिब ४ लाख रुपैयाँ लगानीमा १० कठ्ठा जमिनमा केराखेती थाले। राम्रो आम्दानी हुन थालेपछि अहिले करिब डेढ विघा जमिनमा व्यावसायिक रूपमा केरा उत्पादन गर्दै आएका छन्।


भण्डारीका अनुसार केराखेतीबाट वार्षिक करिब १५ लाख रुपैयाँको आम्दानी हुने र झण्डै १० लाखसम्म बचत गर्न सकिने अवस्था छ। “छ जनाको परिवारको खर्च, बालबच्चाको पढाइ सबै यही आम्दानीबाट चलिरहेको छ,” उनले भने।
उत्पादन गरिएको केरा बजारमा सहजै खपत हुने र बजारको अभाव नहुने पनि उनले बताए। “उत्पादन धेरै भए धनगढी तथा आसपासका बजारमा लगेर बिक्री गर्छु, कम हुँदा आफ्नै ठेलामा राखेर बेच्ने गर्छु,” भण्डारीले अनुभव सुनाए।
उनका अनुसार जेठ–असारमा मात्र उत्पादन कम हुन्छ, बाँकी महिना राम्रो उत्पादन हुने गर्छ। केरासँगै उनी दुई विघा जमिनमा धानखेती र त्यसपछि लसुन, धनिया पनि लगाउने गर्छन्। लसुन वार्षिक १५ क्विन्टल र धनिया २ क्विन्टल उत्पादन हुने जानकारी उनले दिए।
तर, भण्डारीलाई सरकारी सहयोगप्रति भने ठूलो गुनासो छ। “संघ, प्रदेश र स्थानीय सरकारले किसानको पक्षमा ध्यान दिएको देखिन्न। मल त अनुदानमा त के, पैसा तिरेर पनि पाइँदैन,” उनले दुखेसो पोखे। “भारतबाट ल्याउँदा समेत समस्या आउँछ। कम्तीमा पैसा तिरेरै भए पनि सहज रूपमा मल पाइने अवस्था बनाइयोस् भन्ने चाहना छ।”
































