
गौरीगंगा नगरपालिकाले नगर प्रमुख कृषि आधुनिकीकरण पकेट विकास कार्यक्रम अन्तर्गत कृषकहरूलाई विभिन्न कृषि यन्त्र र सामग्री वितरण गरेको छ।

नगरपालिकाको कृषि शाखाले आयोजना गरेको कार्यक्रममा कृषक समूह तथा सहकारी संस्थाहरूलाई पावर टिलर (२२ HP) ११ थान, मिनि टिलर (९ HP) ३ थान, रिपर ४ थान, सिँचाइ मोटर (२ HP) ९ थान, सिँचाइ मोटर (१.५ HP) ४ थान, ४ इञ्चको सिँचाइ पाइप ४७५ केजी, ५ इञ्चको पाइप १२५ केजी, र १६ लिटर क्षमताको स्प्रे ट्यांकी ३ थान वितरण गरिएको कृषि शाखा प्रमुख विनोद चौधरीले जानकारी दिए। सबै सामग्री कृषकलाई ५० प्रतिशत अनुदानमा प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै नगर प्रमुख देविदत्त कँडेलले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आधुनिकरण र यान्त्रिकीकरणमा जोड दिइएको बताए। “कृषिमा लागत घटाएर उत्पादन बढाउन र किसानलाई आत्मनिर्भर बनाउन हामी निरन्तर लागिपरेका छौं,” उनले भने।


त्यसैगरी, नगर उपप्रमुख भोजबहादुर बमले कृषकलाई सशक्त बनाउँदै युवालाई कृषि व्यवसायमा आकर्षित गर्न यस्ता कार्यक्रमले मद्दत पुर्याउने बताए। “देश कृषि प्रधान भए पनि किसान निराश छन्, युवा विदेश पलायन भइरहेका छन्। अब तिनीहरूलाई यही कृषि क्षेत्रमा ब्यवसायिकरूपमा संलग्न गराउनु आवश्यक छ,” उनले जोड दिए।
कार्यक्रममा गौरीगंगा–१ का वडा अध्यक्ष डबल दियाकोटी, नगरस्तरीय मेलमिलाप केन्द्र संयोजक हेमन्तराज जोशी (बाजे), विभिन्न सहकारीका प्रतिनिधि, कृषक समूहका अध्यक्ष तथा स्थानीय कृषकहरूको उपस्थिति थियो।
पावर टिलर, मिनि टिलरलगायत यान्त्रिक सामग्री प्राप्त गरेपछि कृषकहरूले खुशी व्यक्त गरेका छन्। नगरपालिकाले यसअघि पनि विभिन्न समयमा कृषकलाई यस्ता सहयोग उपलब्ध गराउँदै आएको छ।

































