मोहना नदी कटान रोक्न २० हेक्टर क्षेत्रमा ३२ हजार बिरुवा रोपिँदै

Image
Nisarga Hospital

धनगढी: धनगढीको मोहना नदी क्षेत्रमा हुने कटान नियन्त्रण गर्न २० हेक्टर क्षेत्रफलमा ३२ हजार बिरुवा रोप्ने कार्य सुरु गरिएको छ। शनिबार डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत कृष्णदत्त भट्टले वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका हुन्।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिका–३ र १३ मा पर्ने डिलासैनी शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह अन्तर्गतको बगर क्षेत्रमा वृक्षारोपण कार्य भइरहेको हो। कार्यक्रम डिभिजन वन कार्यालय कैलाली, सामुदायिक वन उपभोक्ता समूह र नेचर नेक्सस नेपालको सहकार्यमा सञ्चालन गरिएको हो।

वन क्षेत्रभित्रका खाली जमिनलाई हराभरा बनाउने उद्देश्यसहित सुरू गरिएको वृक्षारोपणले नदी कटान नियन्त्रणका साथै वातावरणीय सन्तुलनमा पनि टेवा पुर्‍याउने डिभिजन वन कार्यालयका प्रमुख भट्टले बताए। “वृक्षारोपण जलवायु अनुकूलन र जैविक विविधताको संरक्षणका लागि पनि महत्त्वपूर्ण छ,” उनले भने।

nawajiwan
Attariya Hospital

डिलासैनी सामुदायिक वन अध्यक्ष कृष्णसिंह ऐरले मोहना नदी आसपासका कटानग्रस्त क्षेत्रलाई प्राथमिकता दिँदै २० हेक्टर क्षेत्रभित्र वृक्षारोपण गर्ने योजना रहेको बताए। “३२ हजारभन्दा बढी बिरुवा रोप्नेछौं,” उनले भने, “भविष्यमा नर्सरी उत्पादन बढाएर बाँझो जमिनमा थप वृक्षारोपण गरिनेछ।” साथै, रोपिएका बिरुवाको संरक्षणका लागि अस्थायी बाँध निर्माण र नियमित हेरचाहको व्यवस्था पनि मिलाइएको उनले जानकारी दिए।

कार्यक्रमका साझेदार संस्था नेचर नेक्सस नेपालका निर्देशक वीरेन्द्र बिष्टले वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपण अत्यावश्यक रहेको बताए। “वृक्षारोपणले केवल हरियाली मात्रै होइन, जनचेतना फैलाउने माध्यमसमेत बन्न सक्छ,” उनले भने।

उनका अनुसार सो वन क्षेत्रमा गरिएको अध्ययनबाट थुप्रै खाली जमिन पहिचान गरिएको छ, जसमा वृक्षारोपणको योजना बनाइएको हो। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षारोपणलाई भरपर्दो उपायको रूपमा लिइएको बिष्टले बताए।