
हालै सम्पन्न SEE परीक्षामा ४.०० GPA हासिल गर्दै सबैको ध्यान तान्न सफल भएका कैलालीको बोराडाडीस्थित त्रिभुवन माध्यमिक विद्यालयका जेहेन्दार विद्यार्थी अशोक कुमार अवस्थी आज Crescent City Secondary School (CCS+2) धनगढीमा पूर्ण छात्रवृत्तिमा भर्ना भएका छन् । उनी आफ्ना अभिभावकको उपस्थितिमा विद्यालय पुगेका थिए । उल्लेखनीय कुरा के छ भने, अशोकसँगै उनकी बहिनी अस्मिता अवस्थी, जसले ३.६१ GPA (A⁺) ल्याएकी छिन्, कक्षा ११ विज्ञान संकायमा दाजुसँगै भर्ना भएकी छन् । दाजु-बहिनी दुबैले विज्ञान विषय रोज्नु र एकैसाथ धनगढीकै ख्यातिप्राप्त निजी विद्यालयमा भर्ना हुनु अभिभावकका लागि मात्र होइन, सम्पूर्ण समुदायका लागि प्रेरणादायी बनिरहेको छ ।

साधारण आर्थिक पृष्ठभूमि भएका अशोक कुमारका पिता श्री केशबराज अवस्थीले छोराछोरीको भर्ना प्रक्रियापछि भने, “हामीले कहिल्यै निजी विद्यालयमा पढाउने सोंचेका थिएनौं । CCS+2 ले दिएको यो अवसर उज्यालो सपना जस्तै लागिरहेको छ । अब सन्तानको भविष्यको चिन्ता कम भएको अनुभूति भएको छ ।”
छात्रवृत्तिको अवसर पाएका अशोकले आफूले यस्तो अवसर पाउँदा गर्व लागेको भन्दै भने, “सपना त सबैको हुन्छ, तर त्यो पूरा गर्नका लागि सही वातावरण र समर्थन चाहिन्छ । अब म विज्ञान पढ्दैछु र भविष्यमा प्रविधि वा स्वास्थ्य क्षेत्रमार्फत समाजलाई योगदान दिन चाहन्छु ।” उनकी बहिनी अस्मिता भन्छिन्, “CCS मा प्रयोगात्मक सिकाइ, अनुभवी शिक्षक, सुरक्षित वातावरण र विद्यार्थीमैत्री विधिका कारण मैले यो विद्यालय रोजेकी हुँ ।”
विद्यालयका विज्ञान संकाय संयोजक, शिक्षक श्री दिपेन्द्र शाहले भने, “अशोक र अस्मिताजस्ता विद्यार्थीहरू शिक्षकका लागि प्रेरणाको स्रोत हुन् । उनीहरूमा आत्मअनुशासन, जिज्ञासा र अध्ययनको भोक छ । यिनीहरूले भविष्यमा समाजमै परिवर्तन ल्याउने विश्वास छ ।”



विद्यालयका अध्यक्ष श्री हरि रेग्मीले भने, “CCS+2 को मूल विश्वास शिक्षालाई व्यापारीकरण होइन, परिवर्तनको माध्यम बनाउनु हो । प्रतिभाशाली तर आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई उचित अवसर दिनु हाम्रो सामाजिक उत्तरदायित्व हो । अशोक र अस्मितालाई साथ दिन पाउनु हामीका लागि गर्वको कुरा हो ।”
धनगढीको रातोपुलमा अवस्थित CCS+2 पछिल्ला वर्षहरूमा उत्कृष्ट नतिजा, अनुशासित वातावरण, अभ्यासमा आधारित सिकाइ, अनुभवी शिक्षक समूह, र नवीन प्रविधियुक्त प्रयोगशालामार्फत विद्यार्थीहरूको पहिलो रोजाइको विद्यालयका रूपमा परिचित हुँदै आएको छ । नियमित अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास कार्यक्रम, सेमिनार र विज्ञान मेला जस्ता गतिविधिले यस विद्यालयलाई अन्य शिक्षालयभन्दा फरक बनाएको छ ।

विद्यालयले science, computer science, management, hotel management संकाय सञ्चालन गर्दै आएको छ जहाँ विद्यार्थीको ज्ञान मात्र होइन, सीप, संस्कार र सिर्जनात्मकताको समेत विकास गरिदै आएको विद्यालयले जनाएको छ ।
यसरी, अशोक र अस्मिता अवस्थीको CCS+2 मा आगमन केवल दुई विद्यार्थीको सफलताको कथा मात्र होइन, सकारात्मक सोच, सही अवसर र सामुदायिक उत्तरदायित्वको सफल समिश्रण पनि हो । यस्तो उदाहरणले समाजमा आशाको उज्यालो थप्ने काम गर्ने विश्वास गरिएको छ ।

































