
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १ अत्तरियामा सञ्चालित तीन महिने ‘कम्प्युटर बेसिक कोर्ष’ तालिमको समापन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। गोदावरी नगरपालिका वडा नं. १ कार्यालयको आयोजनामा सञ्चालित तालिम सार्थक कम्प्युटर एण्ड एजुकेशन मार्फत ३० जना युवालाई दिइएको थियो।

२०८२ साल असार २२ गते सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बिरेन्द्र भट्ट थिए भने कार्यक्रमको सभाध्यक्षता वडा नं. १ का अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टले गरेका थिए। साथै वडा सदस्यहरू, प्रशिक्षक शिवराज जोशी, प्रशिक्षार्थी, अभिभावक र अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रशिक्षक शिवराज जोशीले तीन महिनाको तालिम अवधिमा विद्यार्थीहरूले कम्प्युटरका आधारभूत सीपहरू सिकेको जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बिरेन्द्र भट्टले भने, “यस्ता तालिमले युवाहरूमा दक्षता वृद्धि गरी रोजगारीको अवसर सिर्जना गर्छ। आगामी दिनमा युवा पिढीको माग अनुसार डिप्लोमा तहका तालिम पनि सञ्चालन गर्न नगरपालिका तयार रहेको बताएका छन ।

वडा अध्यक्ष गोपाल दत्त भट्टले भने, “हामी वडास्तरमै सीपमूलक तालिमलाई प्रोत्साहन गर्दै आएका छौँ। युवाहरूको भविष्य उज्वल बनाउन डिप्लोमा तहको पढाइ समेत ल्याउने तयारीमा छौँ।”
वडा सदस्य गम्भीर साउदले भने, “स्थानीय युवालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम हाम्रो पहिलो प्राथमिकता हो।”
प्रशिक्षक शिवराज जोशीले भने, “तीन महिनाको अवधिमा विद्यार्थीहरूले कम्प्युटरका आधारभूत विषयहरू जस्तै एमएस वर्ड, एक्सेल, पावर पोइन्ट, टाइपिङ आदि राम्ररी सिकेका छन्। उनीहरूमा सिक्ने रुचि र लगाव देखेर म निकै उत्साहित छु।”





































