
बझाङका तीन किसानलाई कृषि तथा पशुपालन क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । कृषि ज्ञान केन्द्र बझाङले आयोजना गरेको कृषि तथ्याङ अद्यावधिकका लागी पालिका प्रमुख उपप्रमुख तथा सरोकारवाला सँगको अन्तरक्रिया र भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा छबिसपाथीभेरा गाउँपालिका ७ का मकर बोहरा, खप्तडछानना गाउँपालिका ६ का शमशेर थापा र जयपृथ्बी नगरपालिका ३ का केशबराज बिष्टलाई जनही २५ हजार रुपैयाँ सहित सम्मान प्रदान गरिएको हो । पुरस्कृत बोहरा र थापाले व्यावसायिक रूपमा प्राङ्गारिक तरकारी खेती गरिरहेका छन् भने विष्टले बगुँर र कुखुरापालन गरिरहेका छन् । किसानहरूलाई पुरस्कारका लागि सिफारिस गर्नुअघि जिल्लाभरिका व्यावसायिक किसानहरूको स्थलगत अनुगमन गरिएको थियो ।

प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार जिल्लाका ३ जना किसानलाई पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ ।

उत्कृष्ट किसानहरूलाई जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बहादुर बिष्टले दोसल्लासहित पुरस्कार प्रदान गर्नुभएको थियो । किसानहरूलाई पुरस्कार प्रदान गर्दै उपप्रमुख बिष्टले कृषि पेशाबाटै राम्रो गरेका किसानहरू पुरस्कृत भएकोमा खुसी व्यक्त गर्नुभयो ।

पुरस्कार प्राप्त भएपछि आफूहरूलाई कृषि पेशामा लाग्न थप प्रेरणा मिलेको पुरस्कृत युवा किसान शमशेर थापाले बताउनुभयो । स्नातक तहमा अध्ययन गरिरहेका थापाले कृषि पेशाबाटै आफूले जीविकोपार्जन गरिरहेकाले यो पुरस्कारले थप प्रेरित गरेको बताउदै युवा लाइ कृषिमा टिकाइ राख्न तिनै तहको सरकारले सोच्नुपर्ने बताउनुभयो । आफूले आफनै बाजो खेतमा सदुपयोग गरी अरुलाइ पनि रोजगारी दिन सकु भन्ने हेतुले कृषि पेशा अगालेको भएपनि स्थानीय तहका जनप्रतिनिधिहरूले वास्तविक किसानलाई भन्दा कार्यकर्ताहरूलाई कृषि सम्बन्धी अनुदान दिने गरेको उहाँले गुनासो गर्नुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख खेम पनेरुले १६ जनाको आबेदन परेकोमा ३ जनालाइ छनौट गरेको बताउदै पुरस्कृत कृषकले स्थानीय स्तरमा उदाहरणीय काम गरेको बताउनुभयो । कृषि र पशुपालन दुवै क्षेत्रमा नवप्रवर्तनशील अभ्यास गरेर अरूका लागि प्रेरणाको स्रोत बनेको उहाको भनाइ थियो ।
यस्तै धनगढीमा सम्पन्न भएको कृषि तथा पशुमेला दीर्घ सेवा पुरस्कार बाट आज अन्य तिन जना सम्मानित भएका थिए । सम्मानित हुनेमा तल्कोट गाउँपालिका ७का गोपिलाल बिष्ट, छबिसपाथीभेरा गाउँपालिका ६ कि मिना बुढा र बुङगल नगरपालिका ५ का सिह कुँवर रहेका छन् । उहाहरुलाइ जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहराले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।



































