
कञ्चनपुरः कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा नेतृत्वको टोलीले जिल्लाको एक नमुना विद्यालयको स्थलगत अनुगमन गरेको छ। भीमदत्त नगरपालिका–१८ कटानस्थित महेन्द्रनगर नमुना माध्यमिक विद्यालयको अनुगमन आइतबार सम्पन्न भएको हो।

अनुगमन टोलीमा मेयर ओझासँगै कृष्णपुर नगरपालिका–५ का वडाध्यक्ष टेक पाण्डेय र वडा नं. ९ का वडाध्यक्ष मोहन बस्नेत पनि सहभागी थिए। वडाध्यक्ष पाण्डेय नेविसंघका पूर्वजिल्ला अध्यक्ष तथा पूर्व विद्यार्थी नेता समेत रहेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्ट र प्रधानाध्यापक देवराज भट्टले टोलीलाई विद्यालयको भौतिक अवस्था, कक्षा कोठा, खेलमैदान तथा शैक्षिक गतिविधिहरूको बारेमा जानकारी गराएका थिए। साथै, विद्यालय सुधार र आवश्यक पूर्वाधार विस्तारका विषयमा छलफल भएको थियो।


अनुगमनको क्रममा मेयर ओझाले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि स्थानीय सरकारको सक्रियता आवश्यक रहेको बताए। उनले सामुदायिक विद्यालयमा सिकाइ सुधार, अनुशासन र अभिभावक सहभागिता वृद्धि गर्न नीतिगत तथा संरचनात्मक पहल भइरहेको उल्लेख गरे।
कृष्णपुर नगरपालिकाले चालु शैक्षिक सत्र २०८२ देखि ‘सामुदायिक विद्यालय सुधार अभियान’ सञ्चालनमा ल्याएको छ। उक्त अभियानअन्तर्गत नगरभित्रका विद्यालयहरूको अनुगमन, मूल्याङ्कन तथा आवश्यक सहयोगका कार्यक्रम अघि बढाइएको छ।
अनुगमनबाट विद्यालय र स्थानीय सरकारबीच सहकार्य बलियो बनाउने विश्वास लिइएको छ।
































