
धनगढीः धनगढी उपमहानगरपालिका–४ स्थित तुल्सीराम माध्यमिक विद्यालयमा लागुऔषध दुव्र्यसन नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

सुदूर खबर अनलाईन मिडिया प्रा.लि.को आयोजनामा तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरिएको थियो। कार्यक्रममा विद्यालयका प्राचार्य सिताराम जोशी प्रमुख अतिथि रहेका थिए भने सुदूरखबरका व्यवस्थापक तथा रिपोर्टर गगन अयडीले अध्यक्षता गरेका थिए।

कार्यक्रममा वडा प्रहरी कार्यालय धनगढीका प्रहरी नायव निरीक्षक दिपेन्द्रकुमार किमाडीले लागुऔषध सम्बन्धी परिभाषा, असर, कानुनी व्यवस्था तथा निवारणका उपायहरूबारे जानकारी गराएका थिए। उनले विद्यार्थीहरूलाई लागुऔषधको चंगुलमा नपर्न सतर्क रहन आग्रह गरे।

प्राचार्य जोशीले पछिल्लो समय कैलाली र कञ्चनपुरमा युवामाझ लागुऔषधको दुरुपयोग बढिरहेको उल्लेख गर्दै, “कलिलो उमेरमा यस्तो लतमा परे भविष्य बर्बाद हुन्छ,” भन्दै विद्यालय, अभिभावक, सञ्चारकर्मी, सुरक्षाकर्मी र समुदाय सबै मिलेर समाधानतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघ कैलालीका निवर्तमान अध्यक्ष हिमाल जोशीले यस्ता कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने बताए। उनले सकारात्मक जीवनशैली अपनाउन, गलत संगतबाट टाढा रहन विद्यार्थीलाई आग्रह गर्दै, “व्यक्ति, परिवार र राष्ट्रको भविष्य जोगाउन लागुऔषध नियन्त्रणमा सबै सरोकारवाला एकजुट हुनुपर्छ,” भन्ने धारणा राखे।




































