
धनगढीः नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको सातौं पूर्ण बैठक धनगढीस्थित मनमोहन स्मृति भवनमा सम्पन्न भएको छ। असार २० र २१ गते सम्पन्न बैठक पार्टी प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा केन्द्रीय सचिव एवं प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा बसेको थियो।

बैठकमा प्रदेश कमिटी सदस्यहरू, जिल्ला अध्यक्षहरू लगायतको सहभागिता रहेको थियो। उनीहरूले विगत तीन महिनामा सञ्चालन गरिएको वडा केन्द्रित अभियानको लिखित तथा मौखिक प्रतिवेदन पेश गरेका थिए। बैठकले उक्त अभियानको मूल्याङ्कन गर्दै आगामी कार्यदिशाबारे पनि छलफल गरेको छ।
प्रदेश अध्यक्ष जैशीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव रणबहादुर चन्दले आगामी वर्षको वार्षिक कार्ययोजना र उपसचिव नरबहादुर विश्वकर्माले आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को अनुमानित बजेट प्रस्तुत गरेका थिए।

बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको कामकारबाहीको समेत समीक्षा गरिएको थियो। साथै, पार्टीको प्रदेश सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिस्ट मञ्च, तथा विभिन्न विभागहरूमा पदाधिकारी मनोनयन गरी सिफारिस केन्द्रीय कार्यालयमा पठाउने निर्णय समेत बैठकले गरेको छ।
बैठकले संगठन सुदृढीकरण, कार्यकर्ताको भूमिका स्पष्टता, र आगामी रणनीतिमा एकता कायम गर्ने सन्देश दिएको छ।
१३ बुँदे समसामयिक प्रस्ताव पारित :
१) वर्षातको समय रहेकोले र यसपटक पानी धेरै पर्ने मौसम विज्ञान विभागले बताइरहेको र सुदुरपश्चिम प्रदेश जोखिमपूर्ण प्रदेशमा पर्ने भएकोले समयमा नै जिउधनको रक्षाका लागि अपनाइने सम्पुर्ण प्रावधान अपनाउन र जनतालाई सचेत गराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको यो बैठक ध्यानाकर्षण गराउन चाहन्छ ।
२) हाम्रो देश नेपाल कृषि प्रधान देश रहेको र यो समय खेती लगाउने वर्ष भरिको लागि अनाज उत्पादन गर्ने महत्वपुर्ण समयमा किसानहरुका लागि आवश्यक मल खाद र किटनाशक औषधिको व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायको यो बैठक ध्यानाकर्षण गराउन चाहन्छ ।
३) यो प्रदेशका अधिकांश जनता रोजगारीको लागि भारत प्रवासमा जाने, आउने र अधिकांश जनता खुला सिमानाका कारण दैनिक गुजाराका लागि भारत गएर दैनिक उपभोगका वस्तु ल्याउने क्रममा सिमानामा दुःख दिने कार्य भईरहेकोले सहज सुलभरुपमा आवतजावतको वातावरण बनाउन नेपाल सरकार, स्थानीय प्रशासन, सिमा सुरक्षा निकायको ध्यानाकर्षण गराउन चाहन्छौ ।
४) सुदुरपश्चिम प्रदेशको भारतसँग जोडिएका विभिन्न स्थानमा सिमा मिचिएको र सो क्षेत्रका जनताले सास्ती भोगिरहेकोले सिमाका बारेमा हुने विवाद सुल्झाउन आवश्यक पहल गर्न नेपाल सरकारसँग यो बैठक माग गर्दछ ।
५) भुकम्प प्रभावित जिल्लाहरुमा हालसम्म पनि पिडितहरुले राहत तथा पुर्ननिर्माण सम्बन्धि प्याकेज प्राप्त गर्न नसकेकोले यथासिघ्र व्यवस्थापन गर्न नेपाल सरकारसँग यो बैठक माग गर्दछ ।

६) दार्चुला जिल्लाको सदरमुकाम लगायतका क्षेत्रमा महाकाली नदीले कटान गरिरहेकोले तटबन्धनको उचित व्यवस्था गर्न नेपाल सरकार र प्रदेश सरकारलाई यो बैठक माग गर्दछ ।
७) कैलाली कञ्चनपुर लगायत पहाडी जिल्लामा बाढी, पहिरो र नदि कटान भएका क्षेत्रहरुमा उचित राहत तथा व्यवस्थापन गर्न नेपाल सरकार र प्रदेश सरकारलाई यो बैठक माग गर्दछ ।
८) डेडगु, कोरोना र वर्षायाममा हुने महामारी हैजा जस्ता रोगको संक्रमण बढ्ने समय रहेकोले आवश्यक औषधि व्यवस्थापन र सचेतना कार्यक्रम सञ्चालन गर्न संघीय सरकार र प्रदेश सरकारलाई यो बैठक माग गर्दछ ।
९) भीमदत्त राजमार्ग लगायत बझाङ्ग, बाजुरा, अछाम, डोटी, दार्चुला, बैतडी लगायत सदरमुकाम जोड्ने सडकहरु खाल्डाखुल्डी र जोखिम युक्त भएकोले उक्त सडकहरुको स्तरोन्नति गर्न नेपाल सरकार र प्रदेश सरकारलाई यो बैठक ध्यानाकर्षण गराउँदछ ।
१०) महाकाली लोकमार्ग, सेती लोकमार्ग, खुटिया दिपायल द्रुत मार्ग, बंक नाइल बुडर सडक, बैलौरी कलुवापुर दोमिल्ला नाइल सडक लगायतका बहुप्रतिष्ठित दिर्घकालीन महत्वका सडकहरुको निर्माण कार्य यथेष्ट बजेट व्यवस्थापन गरि सम्पन्न गर्न संघीय सरकार र प्रदेश सरकारलाई यो बैठक माग गर्दछ ।
११) शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक संसदबाट पारित गरिएकोमा संघिय संसद र नेपाल सरकारलाई नेकपा (एमाले) हार्दिक धन्यवाद ज्ञापन गर्दछ । नेपालको एकमात्रै स्वास्थ्य विज्ञान विश्वविद्यालय भएकोले जनशक्ति व्यवस्थापन गरि तत्काल सञ्चालन हुने वातावरण निर्माण गर्न संघीय सरकार र प्रदेश सरकारलाई यो बैठक माग गर्दछ ।
१२) भ्रष्टाचार र ढिलासुस्तिलाई न्युनिकरण गरि सुशासनयुक्त सर्वसुलभ जनताको सेवामा लाग्न यो बैठक सबै तहका सरकारको ध्यानाकर्षण गराउँदछ ।
१३) हालै आर्थिक क्षेत्रमा फड्को मार्ने गरि दैलेखमा पेट्रोलियम पदार्थको अध्ययन अनुसन्धान भई उत्खनन गर्न सकिने सम्भावना भएको तथ्य फेला परेको छ । उक्त कार्यलाई छिटो भन्दा छिटो कार्यान्वयन गर्न यो बैठक नेपाल सरकारलाई माग गर्दछ ।
































