
अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’ स्थापना गरेको घोषणा गरेका छन्। केही हप्ताअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध चिसिएको पृष्ठभूमिमा मस्कले उक्त घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत मस्कले पार्टी गठनको जानकारी दिएका हुन्। उनले अमेरिकाको परम्परागत दुई दल — रिपब्लिकन र डेमोक्रेट — लाई प्रतिस्पर्धा दिने गरी नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्न लागेको बताएका छन्।
यद्यपि, मस्कले पार्टीको औपचारिक संरचना, नेतृत्व वा निर्वाचनमा सहभागिताबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। यस पार्टी अमेरिकी संघीय निर्वाचन आयोगमा दर्ता भइसकेको छ वा छैन भन्ने पनि स्पष्ट भइसकेको छैन। शनिबारसम्म आयोगले यसबारे कुनै औपचारिक विवरण प्रकाशित गरेको थिएन।




एलन मस्क सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पका प्रमुख समर्थक थिए। उनले ट्रम्पको जित सुनिश्चित गर्न करिब २५ करोड डलर सहयोग गरेका थिए। त्यसबापत ट्रम्पले उनलाई ‘सरकारी दक्षता विभाग’ प्रमुखको रूपमा मनोनयन गरेका थिए, जसको उद्देश्य बजेट खर्च न्यूनीकरण गर्नु थियो।
तर ट्रम्प प्रशासनबाट बाहिरिएपछि मस्कले सार्वजनिकरूपमा ट्रम्पको कर तथा खर्च योजनाको आलोचना गरेपछि उनीहरूबीच मतभेद चुलिएको थियो। यही विवादपछि मस्कले नयाँ राजनीतिक बाटो अँगाल्ने निर्णय लिएको अनुमान गरिएको छ।



































