
उपभोक्ता अदालतको पछिल्लो फैसलाप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले आह्वान गरेको चरणबद्ध आन्दोलन अन्तर्गत आज सोमबार देशभरका ओपीडी सेवा बन्द गरिएको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र स्वास्थ्य संस्थाहरूमा पनि आकस्मिकबाहेकका सबै सेवा बन्द छन्।

नेपाल चिकित्सक संघ, सुदूरपश्चिम प्रदेशका अध्यक्ष डा. खगेन्द्र भट्टले उपभोक्ता अदालतले चिकित्सकीय लापरवाहीसम्बन्धी केही मुद्दामा दिएको फैसला नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथिको हस्तक्षेप भएको आरोप लगाउँदै आकस्मिकबाहेकका सेवा बन्द गरिएको जानकारी दिए।
“कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार नेपाल मेडिकल काउन्सिलमा मात्र सीमित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट माग हो,” डा. भट्टले भने, “देशव्यापी रूपमा यो आन्दोलन सञ्चालन भइरहेको छ।”


पछिल्लो समय उपभोक्ता अदालतले विभिन्न अस्पताल तथा चिकित्सकहरूलाई बिरामीप्रति लापरवाही गरेको ठहर गर्दै उच्च क्षतिपूर्ति तिर्ने फैसला गर्दै आएको छ। अदालतले ओम अस्पताललाई ५० लाख ७० हजार, हिमाल अस्पताल र सम्बन्धित चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ, तथा ग्राण्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई ५७ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो।
यस फैसलाले चिकित्सक समुदायमा चर्को असन्तुष्टि जन्माएको छ। संघले सरकारले अविलम्ब कानुनी प्रष्टता ल्याउनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी समेत दिएको छ।





























