
बाजुराः लगातारको वर्षाले मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध भएको छ। बडिमालिका नगरपालिका–७ जिल्ली क्षेत्रमा गएको पहिरोका कारण गत शुक्रबारदेखि सडक ठप्प भएको हो।

सडक बन्द हुँदा हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा क्षेत्रका बासिन्दालाई सदरमुकाम आवतजावतमा कठिनाइ भइरहेको छ। पहिरोले बाटो अवरुद्ध हुँदा स्थानीयले ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन्।
स्थानीय राम कार्कीका अनुसार सडक बन्द हुनुका मुख्य कारणहरू बाउली र दानसाँगुमा पुलको अभाव, र जिल्लीतर्फ पहिरो नियन्त्रण नहुनु हो।


२०७६ सालमा सम्झौता भई २०७८ सम्म सम्पन्न हुने गरी ८५ करोड रुपैयाँ लागतमा सडक कालोपत्रेको जिम्मा दुई ठेकदार कम्पनीलाई दिइएको थियो। तर मार्तडी–चुथी खण्ड बाहेक अन्य खण्डहरूमा काम अलपत्र छ।
भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले पहिरो हटाउन स्काइभेटर पठाउने तयारी भइरहेको जानकारी दिए। जिल्ला प्रशासन कार्यालयका अनुसार समन्वय गरी सडक यथाशीघ्र खुलाउने प्रयास भइरहेको छ।































