
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा नेपाल मानव धर्म सेवा समिति, सुदूरपश्चिम प्रदेश सेती क्षेत्र (मानव सेवा आश्रम) द्वारा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको समन्वयमा सञ्चालित शिविरमा स्थानीय नागरिकसहित आश्रममा बसोबास गर्ने सेवा–प्रेमीहरूलाई निःशुल्क आँखा परीक्षण सेवा प्रदान गरिएको हो।

शिविरको उद्घाटन गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष गोपाल दत्त भट्टले गरे। कार्यक्रममा मानव सेवा आश्रमका जिल्ला तथा केन्द्रीय प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

वडा अध्यक्ष भट्टले आँखालाई नियमित चेकजाँच गर्नुपर्ने आवश्यकतामाथि जोड दिंदै आँखाको स्वास्थ्य जोगाउन समयमै सतर्कता अपनाउनु पर्ने बताए। “हामीले शरीरका अन्य अंगजस्तै आँखालाई पनि माया गर्नु पर्छ, समयमै परीक्षण गराएर मात्र यसको सुरक्षा सम्भव हुन्छ,” उनले भने।

मानव सेवा आश्रम सचिवालयका अनुसार शिविरमा आश्रममा आश्रित वृद्ध, असहाय, सेवाग्राही लगायत स्थानीय सर्वसाधारणको निःशुल्क परीक्षण गरिएको छ।
नेपाल मानव सेवा आश्रम विगत लामो समयदेखि देश–विदेशमा वृद्ध, अपांग, असहाय, मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, संरक्षण र सेवा कार्यमा समर्पित संस्था हो। नेपालका प्रमुख सहरहरूदेखि भारतका विभिन्न राज्यहरूमा समेत आश्रमहरू सञ्चालन गर्दै मानव सेवा आश्रमले सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।

































