
भारतबाट नेपाल–भारत सीमाका विभिन्न नाकाबाट नक्कली स्टिकर टाँसिएका ‘खुकुरी’ ब्रान्डका चुरोट तस्करी भई खुलेआम बिक्री भइरहेको पाइएको छ। आन्तरिक राजस्व विभागको स्टिकर झैँ देखिने तर स्क्यान गर्दा नचल्ने यस्ता नक्कली स्टिकरले बजारमा सक्कली चुरोट झैँ भ्रम सिर्जना गरिरहेको छ।


शुरुमा सामान्य देखिने यस्ता चुरोटहरू साइकिलमार्फत नेपाल भित्र्याइन्छन्। तर स्क्यान गर्दा नक्कली प्रमाणित भएपछि आन्तरिक राजस्व कार्यालय र प्रहरी सक्रिय भएका छन्। हालै कैलाली र कञ्चनपुरका सीमाबाट शसस्त्र प्रहरीले केही मात्रामा यस्ता चुरोट बरामद गरेको छ। तस्कर भने उम्किन सफल भएका छन्।
कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनाले सुर्तीजन्य वस्तुहरूमा यस्तो संगठित नक्कली स्टिकर प्रयोग चिन्ताजनक रहेको बताए। आन्तरिक राजस्व कार्यालय कैलालीका प्रमुख मोहन सिंह वस्नेतले भारतबाट ल्याइने यस्ता चुरोट सस्तो भएकाले व्यापारीहरू सक्कली चुरोटभन्दा तिनै बेच्न थालेको जानकारी दिए।
किराना व्यवसायीहरू पनि यस्ता नक्कली चुरोटको कारण आफ्नो छवि र उपभोक्ताको विश्वासमा असर परेको भन्दै चिन्तित छन्। व्यवसायी संघ कैलालीका अध्यक्ष देवराज पाण्डेले यस्तो तस्करी पहिल्यैदेखि भइरहेको र अहिले अझ खुलेआम भएको बताए।
सूत्रका अनुसार तस्करीमा सुरक्षा निकायको मौनता र सेटिङको आशंका पनि गरिएको छ। सरकारले राजस्व जोगाउन यस्ता गतिविधिमाथि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ।































