
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साह तल्लोचौराहमा बिहीबार मध्यान्ह बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पैदल हिँडिरहेकी ५५ वर्षीया द्रोपती भट्टलाई बेलौरीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख ९२९ नम्बरको यात्रुवाहक रिजर्भ बसले ठक्कर दिएको थियो।

गम्भीर घाइते भएकी भट्टलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस सडक बाहिर पल्टिएको भए पनि बसमा सवार अन्य यात्रुहरू भने सकुशल रहेका छन्।
प्रहरीले बस चालक शुक्लाफाँटा–१० झलारी निवासी ३८ वर्षीय जगत चौधरीलाई बससहित नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।





























