
भारतको कर्नाटकस्थित बेंगलुरु शहरबाट चोरी भएका गहना कैलालीमा फेला परेपछि नेपाली प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

मे २८ मा एस. रमेश बाबुको घरमा चोरी भएका गरगहना बिहीबार स्थानीय जनप्रतिनिधिको रोहबरमा उनीसमक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
भारतीय प्रहरीले दिएको सूचनाका आधारमा नेपाली प्रहरीको अनुसन्धानपछि कालीकोटका ४६ वर्षीय उदय विष्ट र ४५ वर्षीय भैरे विष्टलाई पक्राउ गरिएको थियो। उनीहरूले चोरीका गहना कैलालीको लम्की–चुहा नगरपालिका–१ निवासी ३० वर्षीय पदम सुनारलाई बिक्री गरेको खुलेको छ।


प्रहरीका अनुसार सुनारको साथबाट सुन जस्तो देखिने चुरा ९ थान, ४६४ ग्राम सुन जस्तो देखिने धातु, २३ थान साना-ठूला टुक्रा (२१६ ग्राम), ४०० ग्राम चाँदी, भारतीय रुपैयाँ ४४,१२१, नेपाली रुपैयाँ १२ लाख ९२ हजार ३२० र अन्य विदेशी मुद्रासहित विभिन्न गरगहना बरामद गरिएको छ।
प्रहरीले गहना खरिद गर्ने पदम सुनारलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जनाएको छ।




























