
बैतडी: बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा बिहीबार दिउँसो एक जीप दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन्।

बझाङबाट धनगढीतर्फ जाँदै गरेको से १ ज १००५ नम्बरको बेलोरो जीप सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा बझाङको दुर्गाथली गाउँपालिका–६ का ३३ वर्षीय लोकेन्द्र महत, १३ वर्षीय औजित महत, ३० वर्षीय सरस्वती धामी र ४५ वर्षीय ओमजंग कडायत रहेका छन्।


प्रहरी निरीक्षक तथा प्रवक्ता बलाराम पाण्डेयका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ र उनीहरूको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ। दुर्घटनाका बेला जीपमा चालकसहित पाँच जना सवार थिए।
प्रहरीका अनुसार जीप आफैं अनियन्त्रित भई सडकबाट तल खसेको हो। चालक दुर्गाथली–४ का रमेश जाग्रीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































