
गाजा स्थित डेयर अल बलाहाको अल अक्सा सहिद अस्पताल अगाडि पोषणयुक्त खाद्यान्नका लागि लाइनमा बसेका १५ जना प्यालेस्टाइनीको इजरायली आक्रमणमा मृत्यु भएको छ। मारिनेमा आठ बालबालिका र दुई महिला रहेका छन्। अस्पतालले सार्वजनिक गरेको भिडियोमा आक्रमणपछि बच्चाहरू ढलेको दृश्य स्पष्ट देखिन्छ।

पीडितहरू कुपोषण, सङ्क्रमण, दीर्घरोग र अन्य स्वास्थ्य समस्याबाट पीडित थिए। उनीहरू खाद्यान्न र स्वास्थ्य सेवाका लागि लाइनमा बसेका बेला आक्रमण भएको हो। आक्रमणपछि सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बालबालिका त्रसित हुँदै भुइँमा ढलेको देखिन्छ।

अमेरिकाको गैरसरकारी संस्था ‘प्रोजेक्ट होप’ ले यो आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भनेको छ। इजरायली सेनाले आक्रमण हमासका सैन्य संरचनालाई लक्षित गरिएको दाबी गर्दै सर्वसाधारणको ज्यान गएकोप्रति दुःख व्यक्त गरेको छ।

युद्धविरामका लागि हमास र इजरायलबीच वार्ता चलिरहेका बेला बिहीबार मात्रै गाजामा इजरायली आक्रमणमा ६६ जना प्यालेस्टाइनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
















