
सुदूरपश्चिम प्रदेशसभाले हालै पारित गरेको ‘सुदूरपश्चिम स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ विरुद्ध हेल्थ असिस्टेन्ट एसोसिएसन नेपाल (HAAN) सुदूरपश्चिम प्रदेशले कडा आपत्ति जनाएको छ। संघले संविधान, संघीय कानुन र लोक सेवा प्रक्रिया विपरीत ऐन ल्याइएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।

संघका अनुसार संविधानको धारा ५७(६) उल्लंघन गर्दै ऐनले निश्चित कर्मचारी समूहको पक्षमा तह वृद्धि व्यवस्था गरेको छ। ऐनको दफा ९(४) मा पाँच वर्ष सेवा गरेका चौथो, पाँचौं र छैटौं तहका कर्मचारीलाई एकपटकका लागि एक तह वृद्धि गरिने उल्लेख छ, जसले पाँचौं तहबाट सेवा प्रवेश गरेका योग्य कर्मचारीको अवमूल्यन भएको संघको भनाइ छ।

विशेष आपत्ति चौथो तहबाट सेवा प्रवेश गरेका अहेवलाई सातौं तहमा पदोन्नति गरी ‘जन स्वास्थ्य अधिकृत’ बनाउने प्रावधानप्रति रहेको छ। संघले लोक सेवा आयोगको प्रतिस्पर्धाबाट मात्र यस्तो पद पूर्ति हुनुपर्ने बताउँदै ऐन तत्काल संशोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। संघले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ।
































