
सुदूरपश्चिम प्रदेश ००१–९२९ नम्बरको बसको ठक्करबाट एक महिलाको ज्यान गएपछि कञ्चनपुरका स्थानीयहरू आन्दोलित भएका छन्।

बिहीवार बेलौरीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सो बसले शुक्लाफाँटा नगरपालिका अन्तर्गत कलुवार बजार नजिकै वनसाहकी ५५ वर्षीया द्रोपती भट्टलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी भट्टको घटनास्थलमै मृत्यु भएको थियो।
मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आक्रोशित स्थानीयले महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन्। सडक बन्द हुँदा यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन् भने मालवाहक गाडीहरू लामबद्ध अवस्थामा छन्।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बस र चालकलाई नियन्त्रणमा लिइएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
मृतकको शव सेती प्रादेशिक अस्पताल, धनगढीमा पोस्टमार्टमका लागि पठाइएको छ। आन्दोलनरत स्थानीयले उचित क्षतिपूर्ति उपलब्ध नगराएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
प्रहरीले वार्ता प्रयास जारी राखेपनि सहमति हुन बाँकी रहेको जानकारी दिएको छ।
































