
बझाङ : बागेश्वरी असल शासन नेपाल (बास) बझाङका अध्यक्ष तथा नेपाल टेलिभिजनका बझाङ संवाददाता रमेश सिंहले आफ्नी दिवंगत आमाको सम्झनामा जिल्ला अस्पताल बझाङमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेका छन्।

स्वर्गीय आमाको चौथो स्मृति दिवसको अवसरमा सिंहले बिरामीहरूप्रति सहानुभूति प्रकट गर्दै अस्पताल पुगेर फलफूल वितरण गरेका हुन्। उनले आमाबाट पाएको सेवा, माया र मानवियताको शिक्षा नै यो कार्यको प्रेरणा भएको बताए।


“आमाले सधैं दुःखी र असहायप्रति माया र सहयोग देखाउन सिकाउनु भएको थियो,” सिंहले भावुक हुँदै भने, “आज उहाँको सम्झनामा उहाँकै बाटो पछ्याउने प्रयास गरेँ, मनमा केही सान्त्वना मिल्यो।”
उनको यो मानवीय पहलले अस्पतालमा रहेका बिरामी र उनीहरूका आफन्तमा सकारात्मक सन्देश दिएको छ। अस्पतालका कर्मचारीहरूले पनि सिंहको कार्यको प्रशंसा गर्दै आभार व्यक्त गरेका छन्।
सामाजिक उत्तरदायित्व र आत्मीय भावनाबाट प्रेरित यो सानो प्रयासले समुदायमा सहानुभूति, सेवा र सद्भावको भावना बलियो बनाएको टिप्पणी गरिएको छ।


































