
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–२ स्थित शान्तिटोलबाट खैरो हिरोइनसहित दुई जना युवक पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका–२ मा बसोबास गर्दै आएका २२ वर्षीय रबिन कुमार मल्लको घरमा छापा मारेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दका अनुसार, उक्त कोठामा डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका–४ का २८ वर्षीय तेज बहादुर खड्का (उर्फ काले) ले खैरो हिरोइन लुकाइ राखेको अवस्थामा फेला परेको हो। प्रहरीले खाटमाथिको ब्ल्याङ्केटको खोलभित्र प्लास्टिकको पोकामा लुकाइएको ९ ग्राम ६० मिलिग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ।

दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले जानकारी दिए।































