
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–२, बसपार्क अत्तरियामा ‘न्यु सुदूरपश्चिम दोहोरी साँझ’ सञ्चालनमा आएको छ। युवा व्यवसायी खेम साउँद र विनोद शाहको करिब ५५ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको दोहोरी साँझ शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।



गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले दोहोरी साँझको उद्घाटन गर्दै यस क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले सांस्कृतिक एवं मनोरञ्जन क्षेत्रको विकासमार्फत स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने र नगरपालिकाले यस्ता व्यवसायलाई सधैं साथ दिने प्रतिबद्धता जनाए।

सञ्चालक शाहले यो दोहोरी साँझ केवल व्यवसायिक उद्देश्यका लागि मात्र नभई सुदूरपश्चिमको कला, संस्कृति र लोकगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको बताए। “दिनभरको थकान मेट्ने, रमाइलो गर्ने र परम्परागत दोहोरी संस्कृतिको स्वाद लिने माध्यमका रूपमा हामीले यो सुरु गरेका हौं,” उनले भने।


स्थानीय तह, पर्यटन व्यवसायी र सांस्कृतिक कर्मीहरूले समेत यस दोहोरी साँझले अत्तरियालाई मनोरञ्जन तथा सांस्कृतिक गन्तव्यको रूपमा स्थापित गर्न योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।































