
अत्तरियाः नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा कैलालीको गोदावरी नगरपालिकामा प्रभातफेरी, माल्यार्पण तथा नगरस्तरीय कविता प्रतियोगिता कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।


प्रतिभा सामुदायिक पुस्तकालय, अत्तरियाको आयोजनामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका भित्रका विभिन्न विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको प्रमुख आतिथ्य गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले ग्रहण गरेका थिए। उनले भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै युवा पुस्तालाई साहित्यमा रुचि बढाउन प्रेरित गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टले भने, “भानुभक्त आचार्य नेपाली साहित्यका मेरुदण्ड हुन्। वाल्मीकि रामायणको नेपाली अनुवाद गरेर उनले हाम्रो भाषामा पहिलोपटक रामायण पढ्ने अवसर दिए। मोतिराम भट्टले उनलाई आदिकवि घोषणा गरेपछि उनी राष्ट्रसाहित्यमा स्थापित भए। यस्ता प्रतिभाको स्मरण हामी सबैको कर्तव्य हो।”

“यस्ता कार्यक्रमले विद्यार्थीमा सिर्जनात्मकता बढाउँछ। कविता सिर्जना र वाचनजस्ता अभिव्यक्तिमूलक गतिविधि शिक्षासँगै संस्कार पनि दिन्छन्,” उनले थपे।

कार्यक्रममा प्रमुख अतिथि भट्टले भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण गर्दै कविता प्रतियोगितामा सहभागी विद्यार्थीलाई नगदसहित प्रमाणपत्र वितरण गरेका थिए।
प्रतियोगितामा सत्यवती एकेडेमी, अत्तरियाका रमेश ओझा प्रथम हुँदै रू २,१०० नगद पुरस्कार प्राप्त गरेका छन्। दोस्रो स्थान श्री दुर्गालक्ष्मी मावि, अत्तरियाकी सन्ध्या अवस्थीले रू १,६००, तेस्रो श्री गोदावरी पब्लिक स्कूल, अत्तरियाकी रजनी ऐरले रू १,१००, र सान्त्वना पुरस्कार श्री सिद्धबाबा मावि, गेटीकी भुमेश्वरी मडैले रू ६०० नगदसहित प्राप्त गरेकी हुन्।

त्यस्तै, बाँकी सहभागी ११ जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप रू २०० का दरले नगद वितरण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले गरेका थिए भने संयोजन राजबहादुर कडायतले गरेका थिए।
कार्यक्रममा स्थानीय शिक्षकमात्र नभई अभिभावक र समाजसेवीहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।




















